रूपन्देही । लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री लिला गिरीले शुक्रबारकै लागि तयारी गरे पनि मन्त्री छनोटमा समस्या भएपछि आइतबारका लागि सरेको हो ।
मन्त्रालय भागबण्डा र माओवादी केन्द्र बाहेकका पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लागेको छ । माओवादीमा अझै मन्त्री छनोटबारे विवाद छ ।
मुख्यमन्त्री गिरीको आफ्नै सक्रियतामा शुक्रबार भएको छलफलपछि मन्त्रालयको संख्या र बाँडफाँट टुंगिएको हो । मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेले तत्कालका लागि मुख्यमन्त्रीसहित ५ मन्त्रालय राखेको छ । जनता समाजवादी पार्टी (जसपा)लाई दिनुपर्ने अवस्थामा एमालेको मन्त्रालय ४ मात्र हुनेछन् ।
माओवादीले तीन मन्त्रालय पाएको छ । सरकारलाई समर्थन गरेका दलमध्ये जनमत र राप्रपालाई एकरएक मन्त्रालय दिने गरी टुंगो लागेको छ । जसपाको भागमा एक मन्त्रालय परे पनि लोसपालाई भने मन्त्रालय छुट्याइएको छैन ।