काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई अहिले सम्बोधन गरिरहेकी छन्।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका प्रतिनिधि सभाको बैठक कक्षमा बसेको संयुक्त बैठकलाई राष्ट्रपतिले संविधानको धारा ९५ बमोजिम सम्बोधन गरिरहेकी हुन्।
राष्ट्रपति भण्डारीलाई यसअघि संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत अभिवादन गरे।
त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो। बैठकको प्रारम्भमा प्रधानमन्त्री प्रचण्डले सम्बोधनको प्रति राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका थिए।
सम्बोधन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिहरू उपस्थित छन्।
राष्ट्रपतिले गरेका सम्बोधन प्रतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। राष्ट्रपतिले सम्बोधन गरेलगत्तै आजै दुवै सदनको अलग–अलग बैठक बस्नेछन्।
त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।
संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।
यस्तै, सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ।