काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
शुक्रबार बिहान साढे ९ बजेबाट बैठक सुरु भएको बैठक अहिले पनि जारी छ।
बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तार, सुदूरपश्चि सरकार ढलेकोलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ।
रवि लामिछाने नेतृत्वमा रहेको रास्वपाले सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको, सुदूरपश्चिममा सत्ता गठबन्धन समर्थनमा बनेको नेकपा एमाले नेतृत्वको सरकार ढलेकोजस्ता बदलिएको राजनीतिक परिस्थितिका बीच बसेको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकलाई चासोका साथ हेरिएको छ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।
बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ गएका छैनन्।
यादव जनकपुर भएकोले बैठकमा नगएको बुझिएको छ। जनमत पार्टी अध्यक्ष राउत बैठक छोडेर विवेकशील साझाको महाधिवेशनमा पुगेका छन् भने श्रेष्ठले बैठकबारे आफूलाई जानकारी नभएको र आफू डिल्लीबजार कारागारमा रहेको प्रतिक्रिया दिएकी छन्।
बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो। संयन्त्रको बैठक स्थगित गरेर प्रचण्ड र ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो।