धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिनका लागि बोलाइएको बैठक सरेको छ।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सरेको हो। यसअघि बुधबारको बैठक बिहीबारका लागि सारिएको थियो।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ। उनले विश्वासको मत लिन नसकेमा स्वतस् पदमुक्त हुन्छन्।
५३ सदस्यीय प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक छ। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी २९ जनाको समर्थनबाट उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
तर, टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णयले मुख्यमन्त्री समस्यामा छन्।
नाउपाले आज बस्ने सुदूरपश्चिम प्रदेश सभाको बैठकमा उपस्थित नहुने बताइएको छ। उक्त पार्टीका प्रदेश सभा सदस्यहरू काठमाडौंमै छन्।
प्रदेश सभामा नेपाली काङ्ग्रेसबाट १९, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट चार र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको उपस्थिति छ।