काठमाडौँ । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघेको छ। दुवै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधवार दिउँसो सार्वजनिक गरेको तथ्याङ्कमा ज्यान गुमाउनेको सङ्ख्या ११ नाघेको उल्लेख छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पबाट आठ हजार पाँच सय ७४ जनाको ज्यान गएको छ । यसअघि टर्कीको विपद् व्यवस्थापन निकायले ४० हजारभन्दा बढी मानिस घाइते भएका जनाएको थियो ।
यसैगरी सिरियामा कम्तीमा एक हजार दुई सय ५० जनाको ज्यान जानुका साथै दुई हजार ५४ जना घाइते भएका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिरियामा विपक्षीको कब्जामा रहेको क्षेत्रमा कम्तीमा एक हजार दुई सय ८० जनाको ज्यान जानुका साथै दुई हजार ६ सय भन्दा धेरै जना घाइते भएका उद्धारकर्मीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।
टर्कीमा सोमवार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७ दशमलव८ म्याग्निच्युड र त्यसको केही घण्टापछि ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
टर्की र सिरियामा सोमवार गएको दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिको खोजीका लागि समय र कठ्याङ्ग्रिँदो जाडोको सामना गरिरहेका छन् । धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् ।