काठमाडौं। उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ।
बुधबार बिहान बालकोटमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तापछि उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको हो।
बैठकपछि प्रधानमन्त्री प्रचण्डले भोलि बिहीबार उच्च स्तरीय राजनीतिक संयन्त्र बैठक बस्ने र राष्ट्रपति निर्वाचनबारे छलफल हुने जानकारी दिए।
आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुँदैछ। त्यसपछि आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ।
राष्ट्रपति चुनाव नजिक आइरहेका बेला को उम्मेदवार बन्ने भने टुंगो लागेको छैन। प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने बताउँदै आएका छन् भने एमालेले आफुले पाउनुपर्ने दाबी गर्दै आएको छ।
उक्त भेटमा समसामयिक राजनीतिक घटनाक्रमलगायत मन्त्रिपरिषद् विस्तार, आज लुम्बिनी जारी राष्ट्रियसभा सदस्य निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारमा आएको संकटलगायतका विषयमा पनि छलफल भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रचण्डसँग ५ मन्त्रालय छन्। उक्त खाली मन्त्रालयमा कुन पार्टीबाट मन्त्री पठाउने भन्ने टुंगो लागेको छैन।