काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयले बनाएका कार्ययोजनालाई एकीकृत रूप दिएको छ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रालयस्तरी बैठकपछि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयले बनाएको कार्ययोजनालाई एकीकृत रूप दिएको हो।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमको पूर्ण कार्यान्वयन गर्न सबै मन्त्रालयलाई आफ्नो आफ्नो मन्त्रालयका कार्ययोजना बनाएर प्रस्तुत गर्न निर्देशन दिएका थिए।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्न र नतिजामुखी बनाउन प्रधानमन्त्रीले दिएको निर्देशन बमोजिम सबै मन्त्रालयले आफ्नो आफ्नो कार्ययोजना प्रस्तुत गरेको र त्यसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकीकृत रूप दिएको जानकारी दिए।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयलाई सरकारको एकीकृत कार्ययोजनाका बारेमा जानकारी दिएको समेत प्रस्ट पारिन्। उनले एकीकृत कार्ययोजनामा अन्तरमन्त्रालयसँग सम्बन्धित धेरै विषय रहेकाले सबैको साझा बुझाइका बारेमा जानकारी गराइएको बताइन्।
मन्त्री पौड्यालले सरकारको डेलिभरीको समग्र प्रक्रिया नै झन्झटिलो रहेको भन्दै झन्झटिलो प्रक्रिया र अन्तरमन्त्रालयको समन्वयमा त्यसलाई सुधार गर्न सकिने बताइन्।