धनगढी। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ।
मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिनका लागि बुधबार बोलाएको प्रदेश सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टीले मत नदिने निर्णय गरेको हो।
पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले राजबन्दी रिहा नभएसम्म कसैलाई विश्वासको मत मत नदिने बताइन्।
नागरिक उन्मुक्तिको यो निर्णयसंगै सुदूर पश्चिम सरकार पूर्णता नपाउँदै ढल्ने निश्चित भएको छ।
प्रदेश सरकार गठनका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ। नागरिक उन्मुक्तिको साथ नपाए प्रदेश सरकारले २७ सांसदको समर्थन जुटाउन सक्ने अवस्था छैन।
मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिई सक्नु पर्ने संवैधानिक प्रावधान छ। २७ गते रावल मुख्यमन्त्री नियुक्त भएको एक महिना पुग्दैछ।
सुदूरपश्चिममा एमालेका १०, माओवादीका सभामुख बाहेक १०, नागरिक उन्मुक्तिका ७ र एक जना राप्रपाका प्रदेश सभा सदस्यको समर्थनमा रावल मुख्यमन्त्रीमा गत पुस २७ गते नियुक्त भएका थिए।
कांग्रेसमा १९, समाजवादीका चार र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यहरु प्रदेश सरकारको विपक्षमा छन्।