धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक माघ २५ गते आह्वान गरिएको छ। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले एक सूचना टाँस गर्दै (बुधवार) माघ २५ गते बिहान ११ बजे बैठक आह्वान गरेको हो।
माघ ४ गते ११ गते बैठक बस्ने गरि सभामुख भीमबहादुर भण्डारीले सभा स्थगित भएको जानकारी दिएका थिए।माघ ११ गते अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको थियो।
सचिवालयले सूचना जारी गरेसँगै अनिश्चित बनेको बैठक अब २५ गते बस्ने गरि बाटो खुलेको हो। बैठक आह्वान गरेसँगै प्रदेश सभा सदस्यहरूको मोबाइलमा सचिवालयले सन्देश पठाउँदै बैठकमा उपस्थित हुन आग्रह गरेको सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।
बिजनेस विहीन बनेको बैठकको प्रथम कार्यसूची सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मतका लागी प्रस्ताव पेश गर्ने रहेको छ। मुख्यमन्त्रीलाई विश्वासको मत कायम गराउन नागरिक उन्मुक्ति पार्टीको साथ र सहयोग आवश्यक रहेको छ ।
उन्मुक्तिको असहमतिका कारण मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव पेश गर्न सकेका थिएनन्। माघ २६ गतेभित्र उनले विश्वासको मत लिई सक्नुपर्ने कानुनी व्यवस्था भएपछि सो दिनभन्दा एक दिन अगाडि बैठक आह्वान गराउन उनी सहमत भएका हुन।
यद्यपि अझै पनि उनलाई विश्वासको मत पाउनेमा शङ्का रहेको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेसका १९ सांसद छन् भने माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन्।