काठमाडौं। परराष्ट्रमन्त्री डा.बिमला राई पौड्याल श्रीलङ्काको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरीस्वदेश फर्किएकी छन्।
श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी आइतबार दिउँसो स्वदेश फर्किएकी हुन्। परराष्ट्रमन्त्री पौड्यालले भ्रमणसँगै विभिन्न उच्चस्तरीय भेटवार्ता समेत थरेकी थिइन्।
स्वदेश फर्कने क्रममा मन्त्री पौड्यालले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै श्रीलङ्काको औपचारिक कार्यक्रममा सहभागितासँगै उच्चस्तरीय साइड लाइन भेटवार्ता भएको जानकारी दिइन्।
उनले त्यहाँका राष्ट्रपति रणिल विक्रमासिङ्घे र प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेटवार्ता गरी दुई देशबीचको आपसी हित र चासोका विविध विषयमा छलफल भएको जानकारी दिइन्।
उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्यका लागि आग्रह गरेको बताइन्।
यस अवसरमा उनले भारतका विदेश राज्यमन्त्री, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काका विदेश मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन्।
भेटमा उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरुबीच आपसी छलफल, सहकार्य सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेलगायत विषयमा आफूले स्पष्ट कुरा राखेको बताइन्।
दक्षिण एसियाली मुलुकहरू जलवायु परिवर्तनको जोखिममा रहेको सन्दर्भमा आगामी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा यस क्षेत्रको एउटै आवाज बनाउनका लागि अनौपचारिक नेटवर्क स्थापना गर्न सबैसँग कुरा गरेको पनि मन्त्री पौड्यालले जानकारी दिइन्।
यसैगरी, बङ्गलादेशसँग ऊर्जा व्यापार र माल्दिभ्ससँग त्यहाँ नेपाली चिकित्सक र नर्स पठाउने विषयमा कुराकानी भएको बताइन्।
श्रीलङ्काले उक्त समारोहमा दक्षिण एसियाका सबै परराष्ट्र मन्त्रीलगायत विशिष्ट पाहुनालाई आमन्त्रण गरेको थियो।