काठमाडौं। नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन्।
चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका श्रेष्ठ स्वतः विजयीको माग गर्दै निवेदन दिन निर्वाचन आयोग पुगेका हुन्।
लामिछानेसँग कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई तेब्बर मान्तरले पराजित भएका थिए।
चितवन २ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति लामिछाने ४९ हजार २६४ मतका साथ निर्वाचित हुँदा श्रेष्ठले १४ हजार ९८३ मत पाएर दोस्रो स्थानमा रहेका थिए।
तर लामिछाने नागरिकता सम्बन्धि मुद्दाबारे सर्वोच्च अदालतको फैसलाले ७२ दिनमै पदमुक्त भएका थिए। लामिछानको रास्वपाले भने तत्काल उपनिर्वाचन गर्न माग गरेको छ।
के भन्छ आयोग ?
नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपचुनावबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए। उनले उपचुनावबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पारे।
सहायक प्रवक्ता अर्यालले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा संवैधानिक इजलासमा नै योग्यताको प्रश्न उठेका कारण रहेको भन्दै उपचुनावको माध्यमबाट सांसदको पदपूर्ति हुने बताए।