काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक भोलि पुनः बस्नेगरी स्थगित भएको छ । विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूबाट धारणा राख्ने क्रम बाँकी रहेकाले भोलिसम्म बैठक स्थगित गरिएको पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा १० समूह बनाइ छलफल सुरु गरिएको छ । उक्त बैठकमा सहभागी केन्द्रीय नेताबाट प्रतिवेदनलाई गहन रुपमा अध्ययन तथा छलफल गरेपछि प्राप्त हुने सुझावका आधारमा सो प्रतिवेदनको आवश्यक परिमार्जन गरिने छ ।
प्रतिवेदनमा सरकारको कार्यशैली मूल्यांकन, राष्ट्रिय समस्या समाधानका दृष्टिकोण, अन्तर्राष्ट्रिय तहमा भएका युद्ध रोक्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ । पार्टीले अन्य राजनीतिक दललाई हेर्ने दृष्टिकोण संसद्मा पार्टीको थप प्रभावकारी भूमिकाको विश्लेषण तथा गरिएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बसेको बैठकमा विभिन्न जिल्ला, तह, भूगोल, प्रदेशको सन्तुलित प्रतिनिधित्व हुने गरी निर्माण गरिएका ती समूहका निष्कर्ष भोलिको बैठकमा प्रस्तुत गरिनेछ ।