काठमाडौ । नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले गरेको भेटपछि दुवै पक्षबीच सो समझदारी भएको हो ।
यसका लागि दुवै पक्षका सम्बन्धित निकायले आपसी सहकार्य गर्ने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल र मलेसियाबीच २०७५ कात्तिकमा श्रम समझदारी भएको थियो । सो अवसरमा दुवै देशबीच उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट तथा सम्वाद बढाउँदै व्यापार, लगानी, पर्यटन, आर्थिक विकासलगायत क्षेत्रमा मिलेर काम गर्ने विषयमा छलफल भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिए । भेटमा प्रधानमन्त्री दाहालले मलेसिया सरकारका तर्फबाट श्रमिकको न्यूनतम ज्याला, एक हजार दुई सय रिङ्गेटबाट वृद्धि गरेर एक हजार पाँच सय बनाएकामा धन्यवाद दिए । यसका साथै फ्रि भिसा र फ्रि टिकटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताए ।
प्रधानमन्त्री दाहालले मलेसियामा नेपाली श्रमिक इमान्दार र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्दै भविष्यमा नेपाली श्रमिकको सङ्ख्यामा वृद्धि गर्न मलेसिया सरकारलाई आग्रह गरे ।
भेटमा गृहमन्त्री नासुसन इस्मालीले विदेशी श्रमिकलाई भित्र्याउने प्रक्रिया र त्यहाँ रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा मलेसियाली सरकार गम्भीर रहेको बताए । उनले मलेसियाको पाँच वटा आर्थिक क्षेत्रमा कामदारको आवश्यकता रहेको जानकारी दिँदै कामदारको कल्याणका लागि नीतिगत तथा कानूनी ढाँचामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।