काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब रू तीन अर्ब फिर्ता हुने बताएका छन्।
गत मङ्सिर ४ मा निर्वाचनको समीक्षाका क्रममा आज सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उनले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले विशेष सजगता अपनाएकाले तोकिएका सबै रकम खर्च नहुने भएको जानकारी दिए।
उनले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा समेत खर्च गरेर बाँकी रकम फिर्ता गरिने बताए। नेपाल सरकारबाट उक्त निर्वाचनका लागि रू १० अर्ब विनियोजनमध्ये रू आठ अर्ब ४९ करोड ९९ लाख निकासा भएकामा हालसम्म रू छ अर्ब ५० करोड ४६ लाख खर्च भएको आयोगले जनाएको छ।
उनले आगामी प्रतिनिधिसभा र प्रदेशभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा सरकारी कर्मचारीका साथै निजी क्षेत्रका कर्मचारीलाई पायकपर्ने स्थानबाट मतदानको अधिकार दिलाउने गरी अस्थायी मतदाता परिचयपत्र उपलब्ध गराउने गरी कानुन संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।
विद्युतीय मतदान प्रणाली लागू गराउने विषयलाई पनि कानुनमै उल्लेख गर्नुपर्नेमा जोड उनले दिए।