धनगढी। प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरीलाई जिल्ला अदालत कैलालीले कारागार पठाएको छ।
उनलाई शुक्रबार जिल्ला अदालतमा पेश गरिएको थियो। त्यसपछि अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो।
आगजनी मुद्दामा फरार रहेका सांसद चौधरी बिहीबार दिउँसो बाँकेबाट पक्राउ परेका थिए, त्यसपछि उनलाई बाँकेबाट धनगढी ल्याइएको थियो।
२०७४ मा लम्कीचुहाको मेयर र प्रदेश सभा सदस्यमा पराजित चौधरी २०७९ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।
के हो घटना ?
२०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा तत्कालीन बलिया गाविस ५ का महादेव बजगाईँले मुद्दा दायर गरेका थिए।
उक्त मुद्दामा चौधरीसहित पर्शुराम चौधरी र वीर बहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो।
दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको थियो।
सम्बन्धित समाचारः
सांसद चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्तिको २४ घन्टे अल्टिमेटम