पोखरा । गण्डकी प्रदेश तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो ।अपराजित रुपमा फाइनल पुगेको एपीएफले पहिलो सेट २५–१६ ले जितेको थियो । गण्डकी प्रदेशले दोस्रो सेट २५-१८ तथा तेस्रा सेट २५-१९ ले जितेको थियो ।
चौथो सेट एपीएफले २८-२६ ले जितेपश्चात खेलको निर्णय पाँचौ सेटबाट भएको थियो । निर्णायक पाँचौ सेट १५-८ ले जितेर गण्डकी च्याम्पियन बनेको हो ।
च्याम्पियन गण्डकीले ५ लाख नगद प्राप्त गरेको छ । दोस्रो हुन सफल एपीएफले भने २ लाख ५० हजार नगद प्राप्त गरेको छ।
महिलातर्फको उपाधि एपीएफले क्लबले जितेको छ । त्रिभुवन आर्मी ३-१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
च्याम्पियन एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । दोस्रो हुन सफल आर्मीले भने २ लाख ५० हजार नगद प्राप्त गरेको छ। माघ ८ गतेबाट पोखरामा सुरु यस प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको थियो ।
महिलातर्फ च्याम्पियन नेपाल एपीएफ क्लब सहित त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब र गण्डकी प्रदेशको सहभागीता रहेको थियो ।
पुरुषतर्फ भने च्याम्पियन गण्डकी प्रदेश सहित विभागिय टोली त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, विभागिय टोली नेपाल पुलिस क्लब र विभागिय टोली नेपाल एपिएफ क्लबको सहभागिता रहेको थियो ।