काठमाडौं। सातवटै प्रदेशमा सरकार गठन भएका छन्।बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्त भएसँगै सातवटै प्रदेशमा सरकार गठन भएका छन्।
यसअघि प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी र बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका शालिकराम जम्कट्टेल नियुक्त भएका थिए।
प्रदेश १, गण्डकी, लुम्बनी र सुदूरपश्चिममा एमाले, बागमती र कर्णालीमा माओवादी तथा प्रदेश २ मा जसपा नेतृत्वमा प्रदेश सरकार बनेका छन्।
कहाँ कसको नेतृत्व ?
प्रदेश १
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। उनलाई आइतबार प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। कार्कीले सोमबार मुख्यमन्त्रीको शपथ लिइसकेका छन्।
कार्कीलाई सत्ता साझेदार दलको तर्फबाट एमाले, माओवादी केन्द्र, राप्रपा र जसपा गरी ६० सांसदको समर्थन छ।
शीर्ष नेताहरुबीच भएको छलफलमा उक्त प्रदेशमा एमालेले मुख्मन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको थियो।
९३ सिट रहेको प्रदेश १ मा बहुमतको सरकार बनाउन ४७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। एमाले एक्लैको ४० सिट छ भने माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक सिट छ।
प्रदेश १ मा नेपाली कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ प्रदेशसभा सदस्य छन्।
झापा ५ को १ बाट प्रदेशसभामा निर्वाचित कार्की अध्यक्ष केपी ओली निकट, एमाले स्थायी कमिटी सदस्य, तथा पहिलो कार्यकालमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।
मधेस प्रदेश
मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। उनी मेधश प्रदेशका निवर्तमान सभामुखसमेत हुन्।
बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। त्यसअघि यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख मिश्रसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।
यादवलाई जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक–एक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ।
१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ।
नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र तीन जना प्रदेशसभा सदस्यको सरकारलाई समर्थन छैन।
प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपरान्ह ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेका थिए। पुस २९ गते मुख्यमन्त्रीको शपथ ग्रहण हुनेछ।
मधेसमा जसपा र जनमतले आलोपालोमा मुख्यमन्त्री पद लिने सत्ता गठबन्धनमा सहमति भएको छ ।
बागमती प्रदेश
बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त भएका छन्। माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका जमकट्टेललाई सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। जमकट्टेललाई ७० प्रदेशसभा सदस्यको समर्थन छ।
गण्डकी प्रदेश
नेकपा एमाले नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। एमाले संसदीय दलका नेता समेत रहेको अधिकारी सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
उनलाई गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थन छ। अधिकारीले सोमबार नै शपथ लिइसकेका छन्।
लुम्बिनी प्रदेश
नेकपा एमाले प्रदेश संसदीय दलका नेता लीला गिरी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
बुधबार उनलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। त्यसअघि उनले प्रदेश प्रमुख शेरचन समक्ष ७ दलका ५८ सांसद समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए वहुमत पुग्छ।लुम्बिनीमा एमाले र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतीय सरकार गठनका लागि पुस २७ गते ४ बजेसम्मको समय सीमा तोकेर पुस २१ गते दलहरूलाई आह्वान गरेका थिए।
कर्णाली प्रदेश
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन्।
उनलाई बुधबार प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
उनले यसअघि माओवादी, एमाले, राप्रपा, एकीकृत समाजवादी गरि २५ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख परियारसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए। ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसद चाहिन्छ।
रुकुम पश्चिम प्रदेशसभा (२) बाट निर्वाचित शर्मा माआवादी पोलिटब्यूरो सदस्य समेत हुन्।कर्णालीमा माओवादी र एमालेबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको छ।
सुदूरपश्चिम प्रदेश
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
उनलाई बुधबार प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले बुधवार दिउँसो प्रदेश प्रमुख जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
उनलाई समर्थन उनको पार्टी एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाका २९ सांसदको समर्थन रहेको छ। रावल एमाले पोलिटब्युरो सदस्य एवं सुदुरपश्चिम प्रदेश सहइन्चार्ज हुन्। उक्त प्रदेशमा एमाले र माओवादी आलोपालो मुख्यमन्त्री बन्ने सहमति बनेको छ।