काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले सुखद सुरुवात गरेको छ।
मंगलबार भएको खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो। त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै समेटियो। जनकपुरले निर्धारित २० ओभर पूरा गर्नुअघि नै सबै विकेट गुमाएपछि कर्णालीले जित सुनिश्चित गरेको हो। जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन जोडे भने जिम्मी निशमले १५ तथा मायन यादवले १४ रन बनाए। अनिलकुमार शाहले ११ रनको योगदान दिए। कुशल परेवा ६ रनमा आउट हुँदा तृतराज दासले एक रन बनाए। आदित्य मेहता खाता नखोली पभेलियन फर्किए। ललित राजवंशीले एक रन बनाए भने राहुल यादव एक रनमा अविजित रहे।
कर्णालीको जितमा बलर युनिस ठकुरी र हुसेन तलतले महत्वपूर्ण भूमिका निर्वाह गरे। दुवैले समान तीन विकेट लिए। युनिसले चार ओभरमा एक मेडन राख्दै तीन विकेट लिएका थिए। उनले एउटै ओभरमा जनकपुरका कप्तान हर्मीत सिंह र जिम्मी निशमलाई आउट गरेपछि खेल कर्णालीको पक्षमा मोडिएको थियो। नन्दन यादवले दुई तथा सोमपाल कामीले एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। कर्णालीका ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे। कर्णालीले इनिङ्सको सुरुवातदेखि नै विकेट गुमाएको थियो। पहिलो ओभरको अन्तिम बलमा मार्क वाट एक रन बनाएर आउट भए। त्यसपछि दीपक डुम्रे १३ रनमा पभेलियन फर्किए। जनकपुरका लागि डेब्यु गरेका राहुल यादवले आफ्नो पहिलो बलमै विकेट लिएका थिए। हुसेन तलत तीन रनमा आउट हुँदा कर्णालीले ३७ रन बनाउँदासम्म तीन विकेट गुमाइसकेको थियो।
त्यसपछि अरिफुल इस्लाम र पवन सर्राफले चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्दै कर्णालीको इनिङ्स सम्हाल्ने प्रयास गरे। अरिफुल ४३ रनमा आउट हुँदा पवनले ३७ बलमा ३७ रन बनाए। अक्बर अली र कप्तान सोमपाल कामीले समान एक रन बनाए भने गुल्सन झाले १२ रन जोडे। नन्दन यादव नौ रनमा आउट भए। युवराज खत्री र युनिस ठकुरी अविजित रहे। जनकपुरका कप्तान हर्मीत सिंहले तीन विकेट लिए। मोइन अली र राहुल यादवले समान दुई तथा ललित राजवंशीले एक विकेट हात पारे। एनपीएलअन्तर्गत मंगलबार नै पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ। उक्त खेल साँझ ५ बजे सुरु हुने छ।