काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहिरहेका बेला बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा, हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार बुधबार बिहान कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहेको छ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। देशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ। राति भने देशभर साधारणतया बदली रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिहीबारदेखि वर्षा र हिमपात बढ्ने सम्भावना
बिहीबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिमका हिमाली क्षेत्रमा बादल लाग्ने अनुमान छ। कोशी र बागमतीका हिमाली भूभागका केही स्थान तथा अन्य हिमाली क्षेत्रमा पनि वर्षा र हिमपात हुन सक्नेछ। बिहीबार रातिदेखि मौसम थप प्रतिकूल बन्न सक्ने पूर्वानुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ।
शुक्रबार र शनिबार पनि जोखिम कायमै
शुक्रबार देशका अधिकांश भूभागमा बदली रहने र विभिन्न प्रदेशमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ। केही स्थानमा भने धेरै भारी वर्षा र हिमपातसमेत हुन सक्ने चेतावनी दिइएको छ। शनिबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिमका हिमाली क्षेत्रमा बदली रहनेछ। विभिन्न प्रदेशमा वर्षा र हिमपात जारी रहने तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कृषि कार्य र हिमाली यात्रामा विशेष सावधानी अपनाउन आग्रह
सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै महाशाखाले धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सक्न आग्रह गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई यात्रा नगर्न वा सुरक्षित स्थानमा रहन पनि अनुरोध गरिएको छ। लगातारको वर्षाले पहिरोको जोखिम बढाउन सक्ने, चिसो बढ्ने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अपिल गरेको छ।