काठमाडौं। प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।
उनलाई आइतबार प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीले सोमबार मुख्यमन्त्रीको शपथ लिनेछन्।
यसअघि आइतबार नै कार्कीले सत्ता साझेदार दलको तर्फबाट एमाले, माओवादी केन्द्र, राप्रपा र जसपा गरी ६० सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
शीर्ष नेताहरुबीच भएको छलफलमा उक्त प्रदेशमा एमालेले मुख्मन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको थियो।
९३ सिट रहेको प्रदेश १ मा बहुमतको सरकार बनाउन ४७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। एमाले एक्लैको ४० सिट छ भने माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक सिट छ।
प्रदेश १ मा नेपाली कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ प्रदेशसभा सदस्य छन्।
झापा ५ को १ बाट प्रदेशसभामा निर्वाचित कार्की अध्यक्ष केपी ओली निकट, एमाले स्थायी कमिटी सदस्य, तथा पहिलो कार्यकालमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।