काठमाडौँ। हिमाली क्षेत्रमा पदयात्रा तथा घुमफिर गर्ने योजना बनाउनुभएको छ ? यदि तपाईं मनाङ र आसपासका उच्च हिमाली क्षेत्रमा यात्रा गर्दै हुनुहुन्छ भने मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।
उच्च हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मनाङले पर्यटक, पदयात्री, पर्वतारोही र स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार कात्तिक १२ देखि १५ गतेसम्म मौसम प्रतिकूल हुन सक्ने सम्भावना छ। यसले उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा हिमाल आरोहण जोखिमपूर्ण बनाउन सक्ने प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार थोराङ्ला पास, लार्के पास, काङ्ला पास, तिलिचो ताल तथा हिमलुङ र लमजुङ हिमाल आसपासका क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्नेछ। मौसमको अवस्था नबुझी पदयात्रा तथा आरोहणमा ननिस्कन, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर मात्रै यात्रा योजना बनाउन प्रशासनले आग्रह गरेको छ।
त्यस्तै, पदयात्रामा निस्किसकेका पर्यटक तथा यात्रुहरूलाई पनि पदमार्गको अवस्था बुझेर सुरक्षित निर्णय लिन अनुरोध गरिएको छ। सम्भावित विपद्लाई ध्यानमा राख्दै उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई समेत आग्रह गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पदयात्राका क्रममा कुनै विपद्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाइ वा सुरक्षा निकायलाई तत्काल जानकारी गराउनुपर्नेछ। सम्भावित जोखिमबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न पर्यटक, पर्यटन व्यवसायी, पदयात्रा सञ्चालक र स्थानीयवासीलाई सचेत तथा जिम्मेवार बन्न प्रशासनले अनुरोध गरेको छ।