काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै नेपाली क्रिकेटको प्रवर्द्धनमा निजी क्षेत्रको सहभागिता थपिँदै गएको छ।
यसैक्रममा भेद इन्टरनेसनल कन्सल्टेन्सी काठमाडौं गोर्खाजको उत्सव साझेदार बनेको छ। नेपाली क्रिकेटप्रतिको आकर्षण बढिरहेका बेला भएको यो सहकार्यलाई खेलकुद र निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ। काठमाडौंको सोल्टीमोडस्थित होटल इम्पेरियलमा आज आयोजित कार्यक्रममा भेद इन्टरनेसनल कन्सल्टेन्सी र काठमाडौं गोर्खाजबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा भेद इन्टरनेसनल कन्सल्टेन्सीका सीईओ तथा ईक्यानका सचिव आशिक कार्की र काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वर सिहोरियाले हस्ताक्षर गरेका हुन्।
भेद इन्टरनेसनल कन्सल्टेन्सीका सीईओ कार्की नेपाल शैक्षिक परामर्श संघका सचिवसमेत हुन्। काठमाडौंमै जन्मिएर हुर्किएका कार्कीले क्रिकेटप्रति आफ्नो विशेष रुचि रहेको उल्लेख गर्दै काठमाडौं गोर्खाजसँग जोडिन पाउँदा खुसी लागेको बताए। नेपाली क्रिकेटको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रले पनि आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने उनको भनाइ छ। कार्कीका अनुसार काठमाडौं गोर्खाजसँगको सहकार्य केवल एउटा टोलीसँग जोडिने विषय मात्र नभई नेपाली क्रिकेटप्रतिको समर्थन र खेलकुदको विकासमा साथ दिने प्रयास पनि हो। आफ्नो कन्सल्टेन्सी परिवारले नेपाली क्रिकेटलाई सहयोग गर्न चाहेको बताउँदै उनले प्रतियोगितामा काठमाडौं गोर्खाजले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले टोलीका खेलाडी, व्यवस्थापन तथा सम्पूर्ण टिमलाई सफलताको शुभकामनासमेत दिए।
यता, काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वर सिहोरियाले आफ्नो टोलीमाथि विश्वास गरेर सहकार्य गर्न आएकोमा भेद इन्टरनेसनल कन्सल्टेन्सीप्रति आभार व्यक्त गरे। खेलकुदको विकासका लागि निजी क्षेत्रको साथ र सहयोग महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले यस्तो सहकार्यले टोलीलाई थप हौसला मिल्ने बताए। सिहोरियाका अनुसार काठमाडौं गोर्खाजमा ऊर्जा, उत्साह र केही गरेर देखाउने दृढता छ। टोलीले आफ्नो यही जोस र क्षमतालाई मैदानमा प्रस्तुत गर्दै प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्ने लक्ष्य राखेको छ। समर्थकको विश्वास र साझेदार संस्थाहरूको सहयोगलाई आत्मसात् गर्दै मैदानमा उत्कृष्ट नतिजा ल्याउन टोली प्रयासरत रहने उनको भनाइ छ।
नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएका बेला खेलकुदमा निजी क्षेत्रको सहभागिता पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। यस्ता सहकार्यले टोलीलाई सहयोग जुटाउनुका साथै क्रिकेटप्रति सर्वसाधारण, युवा पुस्ता र व्यावसायिक क्षेत्रको चासो बढाउनसमेत भूमिका खेल्न सक्छन्। काठमाडौं गोर्खाज र भेद इन्टरनेसनल कन्सल्टेन्सीबीच भएको यो सहकार्यले प्रतियोगिताको उत्साह थप बढाउने र नेपाली क्रिकेटको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। मैदानमा खेलाडीको प्रदर्शनसँगै मैदानबाहिरबाट प्राप्त हुने साथ र समर्थनले पनि टोलीको यात्रालाई थप बलियो बनाउन सक्नेछ।