काठमाडौँ । मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका सन्तोष र मीना लामिछानेलाई प्रहरीले कैलाली पठाइएको छ ।
बुधबार पक्राउ परेका उनिहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको हो ।
कैलाली प्रहरीको सूचनापछि प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोबाट खटिएको टोलीले मुम्बई उड्नका लागि जहाजमा चढेका लामिछानेलाई पक्राउ गरेको थियो । उनी धनगढी २ स्थित सौगात सुनचाँदी पसलका सञ्चालक हुन् । उनीमाथि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो ।
अहिले सुनचाँदी व्यवसायीहरुको टोलीसँग उनी मुम्बई घुम्न जान लागेका थिए । त्यही बेला कैलाली प्रहरीले प्रधान कार्यालयमा जानकारी गराएको थियो । जहाज उड्न लागेको बेलामा प्रहरीको विशेष ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो ।
ढोका बन्द भएर उड्न लागेका बेला सबै यात्रु उतारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउपछि लामिछानेलाई प्रहरी वृत्त गौशालामा राखिएको थियो ।