काठमाडौं। संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं पुगेका छन्।
सहायक विदेशमन्त्री लु नयाँ दिल्ली हुँदै बिहीबार अपरान्ह काठमाडौं आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालस्थित अमेरिकी राजदूतावासका उच्च अधिकारीले स्वागत गरे।
उनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने तय भएको छ। साथै, उनी काठमाडौंमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुनेछन्।
नेपालस्थित अमेरिकी राजदूतावासले लुको नेपाल भ्रमणलाई नियमित भनेको छ। भ्रमणका अवसरमा उनले विभिन्न व्यवसायिक, नागरिक तथा सरकारी नेतृत्वकर्ताहरूसँग नेपाल–अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताका विविध आयाम, दुई देशको आर्थिक विकासप्रतिको प्रतिवद्धता, लोकतन्त्र तथा मानव अधिकारलगायत विषयमा कुराकानी गर्ने अमेरिकी राजदूतावासले जानकारी दिएको छ।
उनी यसअघि गत मङ्सिरमा नेपाल आएका थिए।