काठमाडौँ । एसईईको परीक्षा दिएर बसेकी छात्रालाई फेसबुकमा अश्लील शब्द प्रयोग गर्ने शिक्षकलाई कारबाही गर्न माग गरिएको छ ।
अखिल (क्रान्तिकारी) सूर्योदय नगर समिति इलामले एक विज्ञप्ति जारी गर्दै सूर्योदय नगरपालिका वडा नम्बर ७ कन्याम स्थित श्री कृष्णाश्रम माध्यमिक विद्यालयका नि.मा.बि. विज्ञान शिक्षक रमेश पौडेललाई कारबाहीको माग गरेको हो ।
ती शिक्षकले सोही विद्यालयबाट एसईई को परीक्षा दिएर बसेकी छात्रालाई सामाजिक सञ्जाल फेसबुकमा अश्लील शब्द प्रयोग गरी शिक्षकको मर्यादा विपरीत हर्कत गरेको आरोप लागेको छ ।
अखिल क्रान्तिकारी सूर्योदय नगर समितिका संयोजक शेखर तिम्सीनाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सूर्योदय नगरपालिका वडा नम्बर ७ कन्याम स्थित श्री कृष्णाश्रम माध्यमिक विद्यालयका नि।मा।बि। विज्ञान शिक्षक रमेश पौडेलले सोही विद्यालयबाट एसईईको परीक्षा दिएर बसेकी छात्रालाई सामाजिक सञ्जाल फेसबुकमा अश्लील शब्द प्रयोग गरी शिक्षकको मर्यादा विपरीत हर्कत गरेको प्रति हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी)घोर भर्त्सना गर्दछ । विद्यालय र शिक्षकहरूबाट नैतिकता सिकाइनु पर्ने पवित्र स्थलमा यस्ता गैर जिम्मेवारी ढङ्गले आफ्नो मर्यादा भुलेर अराजक शैलीका गतिविधि हुनु निकै गम्भीर विषय हो । यस्ता अराजक र मर्यादाहीन शिक्षक समाज र राष्ट्रको लागी सबै भन्दा ठुलो अपराधी हुन भन्न हाम्रो ठहर छ । तसर्थ उक्त शिक्षकलाई हदै सम्मको कारबाहीको माग गर्दै अन्यायमा परेको विद्यार्थीलाई न्याय दिलाउन हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौ ।’
