जनकपुरधाम। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना पुनः सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताएका छन्।
बन्द जनकपुर चुरोट कारखाना लिमिटेडको अनुगमन निरीक्षणपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकमा रहेको रुग्ण उद्योगहरु के कसरी सञ्चालन गर्ने विषयमा अध्ययन भइरहेको र अध्ययनपश्चात् सरकारले निर्णय लिने जानकारी दिए।
मुलुकको व्यापार घाटा बढ्दै गएको अवस्थामा त्यसलाई कम गर्न पनि निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न रुग्ण उद्योग सञ्चालन गर्न लागेको उनले बताए। उनले रुग्ण उद्योग सञ्चालन गर्ने सरकारको नीतिअनुसार आफू स्थलगत अवलोकनमा आएको बताए।
सरकारले चलाएको जनकपुर चुरोट कारखाना कुनै बेला निकै नाम कमाएको उद्योग रहेको र अहिले बेहाल अवस्थामा देखिएकाले कारखानाको अवस्था, यसको सम्पत्ति, मेसिनरीको अवस्था लगायतका विषयवस्तु बुझ्नका लागि आफू अनुगमनमा आएको मन्त्री बडूको भनाइ छ।