काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा सूचना र प्रविधिको दु्रतगतिमा विकास भइरहेको सन्दर्भमा हाम्रा सञ्चारमाध्यमहरूलाई पनि समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्दै लैजानुपर्ने बताएका छन्।
राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्ने उल्लेख गरे।
वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न कटिबद्ध रहेको उल्लेख गर्दै उनले आफू सदैव पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा अडिग रहेको बताए।
प्रधानमन्त्री देउवाले भने, ‘नागरिकहरू जति शिक्षित र सुसूचित हुन्छन, सरकार त्यत्तिकै नागरिकप्रति जिम्मेवार र जवाफदेही बन्न बाध्य हुन्छ। अतः नागरिकलाई शिक्षित र सुसूचित गर्ने गरी सञ्चार माध्यमहरूले सत्य तथ्य सूचना प्रवाह गर्न जरुरी छ।’
तथ्यहीन, भ्रामक र समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकमा भ्रममात्र सिर्जना नगरेर यसले पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार गर्ने उनले बताए।