कर्णाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८र७९ मा रु नौ लाख मूल्य बढीका म्याद गुज्रेका खाद्य वस्तु नष्ट गरेको छ ।
सो अवधिमा उक्त कार्यालयले दलहन, मिठाइ, पेय पदार्थ, मसला, तेल तथा घ्यू, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, मसला, चिया, कफी, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, नुन, मासु र दाना नष्ट गरेको हो ।
कार्यालयले कार्यक्षेत्रअन्तर्गत पर्ने सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, डोल्पा र हुम्लाका विभिन्न बजारबाट रु नौ लाख १० हजार चार सय ६३ मूल्य बराबरका खाद्य वस्तु नष्ट गरेको जनाएको छ ।
डिभिजन कार्यालयले गत आवमा एक सय ३१ पटक बजार अनुगमन गरेको थियो । कार्यालयले खाद्य वस्तुको गुणस्तर जाँच तथा अनुगमनका साथै कारबाहीका लागि प्राविधिक सहयोग गर्ने गर्दछ । उक्त अवधिमा सात उद्योगलाई कारबाही सिफारिस गरिएको थियो ।
कार्यालय प्रमुख भेषबहादुर थापाले बजारमा म्याद गुज्रेका, मिसावट गरेका र सडेगलेका सामानसमेत बिक्री गर्ने गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण ऐनबमोजिम कारबाही गरिएको जानकारी दिए ।