कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पुरा भएको छ । तर बलात्कारपछि हत्या भएको चार वर्ष बितिसक्दा पनि दोषी अझै पत्ता लाग्न सकेको छैन ।
प्रहरीले गम्भीर रूपमा लिएको निर्मला हत्या प्रकरणलाई अनुसन्धान जारी राखे पनि हत्यारा अझै पत्ता लगाउन नसकेको हो ।यो घटनामा सबैभन्दा बढी छानबिन समिति बनाएर प्रहरीले अनुसन्धान गरे पनि चार वर्षसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको बताए ।
लागुऔषध प्रयोगकर्तालाई पनि निर्मला केसमा अनुसन्धानको घेरामा राखेको बताउदै उनले सो क्षेत्रका १८/१९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको बताए । प्रहरी उपरीक्षक चौधरीका अनुसार अहिले पनि कञ्चनपुरमा केन्द्र र जिल्लाका अनुसन्धान टोलीहरू सक्रिय छन् ।
अहिलेसम्म ६ सय ३५ जनालाई सोधपुछ गरिएको छ भने अहिले पनि डिएनए परीक्षण भइरहेको छ । प्रहरी उपरीक्षक चौधरीका अनुसार भर्खरै मात्र शंकास्पद तीन जनाको डिएनए परीक्षणका लागि पठाइएको छ । उनीहरूको डिएनए रिपोर्ट आउन बाँकी रहेको उनले बताए। यसअघि निर्मला हत्याकाण्डको अनुसन्धानका लागि १ सय ७ जनाको डिएनए परीक्षण भइसकेको छ । १३ वर्षीया किशोरी पन्त ०७५ साउन १० गते साथीको घरबाट वेपत्ता भइन् । भोलिपल्ट घरभन्दा एक किलोमिटर टाँढा उखुबारीमा उनको शव फेला परेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक ग¥यो । स्थानीयले विष्ट दोषी नभएको भन्दै आन्दोलन गरे। भेजिनल स्वाबमा भेटिएको डीएनएसँग ‘म्याच’ नभएपछि विष्ट छुटे । नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्यो ।
अपराध अनुसन्धानमा गम्भीर लापरबाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्टसहितका प्रहरी बर्खास्त भए । विभागीय कारबाहीमार्फत बर्खास्त भएका एसपी विष्टसहितका प्रहरीले अदालतबाट सफाई पाए । अहिले उनको बढुवा भइसकेको छ । सीआइबीले २/२ महिनाको अन्तरमा विभिन्न टोली पठाएपनि अभियुक्त भने पत्ता लगाउन सकेको छैन । निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर थप एक युवकको समेत मृत्यु भएको थियो ।
संसदमा खोजियो ‘हत्यारा’
सांसदहरुले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पक्राउ नपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा केदार सिग्देल र गंगा चौधरीले चार वर्ष पूरा भइसक्दा पनि निर्मला हत्या घटनाको दोषी पक्राउ पर्न नसक्नु दुखद् भएको बताए । तत्कालीन केपी शर्मा ओली सरकारले हत्यारालाई छुट दिन खोजेको आरोप लगाउने तत्कालीन प्रतिपक्षी दलका सांसदहरुको आवाज अहिले सत्तामा पुगेपछि बन्द भएको उनीहरुको आरोप छ ।
‘तत्कालीन ओली सरकारले हत्यारालाई छुट दिन अनुसन्धान नगरेको भन्दै काँग्रेसका माननीयज्यूहरुले यो हलै थर्कनेगरी बोलेको सुनिन्थ्यो,’ सांसद सिग्देलले भने, ‘म सोध्न चाहान्छु, देउवा सरकारले यो एक वर्षसम्म अपराधी पत्ता लगाउन के के काम गर्यो ? सिन्को भाँचेको छैन । अपराधीलाई पत्ता लगाइ कारबाही गर्न प्रतिपक्ष दल सहयोग गर्न चाहन्छ, दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्छु ।’
साथै सांसद गंगा चौधरीले निर्मला पन्तले न्याय पाएकी हुन् भन्दै प्रश्न गरेकी छन् । ‘सदनमा चर्कोचर्को आवाज गुन्जिन्थ्यो, त्यो आवाज खोज्दैछु, निर्मला पन्तले न्याय पाएकै हुन् ? हत्यारा पत्ता लागेकै हो ?,’ उनले भनिन्, ‘हत्यारा पत्ता लागेको हो भने कुन कारागारमा राखेको छ ? दोषीलाई किन सार्वजनिक गरेको छैन ?’