कामठाडौँ । प्रहरीले काठमाडौंको कल सेन्टरबाट ३६ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ।स्काई वर्ल्ड सर्भिस सेन्टरबाट एक चिनियाँ, दुई भारतीय र ३३ नेपालीसहित ३६ जना व्यक्तिहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
पक्राउ पर्नेमा स्काई वर्ल्ड सर्भिस सेन्टरको व्यवस्थापन प्रमुख ४३ वर्षीय चिनियाँ नागरिक हू यूइहुआ, भारत उत्तर प्रदेशका २६ वर्षीय मनोज शैनी, १९ वर्षीय नेहा गुप्ता, २८ जना पुरूष र ५ जना महिला गरी ३३ जना नेपाली छन्।
मैनालीका अनुसार सोमबार काठमाडौं महानगरपालिका-९ तीनकुनेस्थित कल सेन्टरमा अवैध तरिकाले कामदारहरू राखेको गोप्य सूचना पाएको थियो।
कल सेन्टरको नाममा आपराधिक कृयाकलाप गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट आठ लाख २९ हजार रुपैयाँ, ३६२ थान ल्यापटप, ७४८ थान डेस्कटप कम्प्युटर र एक थान डिभिआर बरामद गरेको जनाएको छ।आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित एक कल सेन्टरबाट १५० जनालाई पक्राउ गरेको थियो। त्यसपछि प्रहरीले काठमाडौंमा पनि छापा मारेको हो।