काठमाडौं। नेपाल सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ ।
आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो। आगामी तीन महिनाभित्र यस्तो घोषणा गरिसक्ने गरी मन्त्रालयले समय तोकेको छ।
मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने भएको छ। दशक नियमित प्रयोगमा न आएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणा समेत मन्त्रालयले गरेको छ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा ‘रिकोभरी प्लान’ ल्याउने निर्णय गरेका थिए। सोही अनुसार आइतबार मन्त्रालयले कार्ययोजना सार्वजनिक गरेको हो।
काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवर्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा आगामी दुई वर्षभित्र संचालन हुने समेत मन्त्रालयले जनाएको छ।