काठमाडौं। सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०७७/७८ को योगदान रकमबाट प्राप्त व्याजका साथै एक प्रतिशत प्रतिफल रकम योगदानकर्ताको खातामा जम्मा गरेको छ।
कोष सञ्चालक समितिको बैठकले वृद्धावस्था सुरक्षा योजनामा योगदान गर्ने योगदानकर्ताको अघिल्लो आवको योगदान रकमको छ दशमलव७५ प्रतिशत व्याज र थप एक प्रतिशत प्रतिफल थप गर्ने निर्णय गरेको थियो।
कोषले कोरोना महामारीको समयमा सरकारका तर्फबाट योगदानकर्ताको खातामा जम्मा गर्नुपर्ने योगदान रकमको बाँकी अंशसमेत जम्मा गरिदिएको छ। योगदानकर्ताको खातमा बाँकी १६ प्रतिशत रकम जम्मा गरिएको कोषका निर्देशक कृष्ण अधिकारीले जानकारी दिए।
सरकारले कोभिडबाट सताइएका योगदानकर्ता र रोजगारदाताका तर्फबाट कोषमा जम्मा गर्नुपर्ने २०७८ वैशाख र जेठ महिनाको योगदान रकम कोषमा जम्मा गरिदिने निर्णय गरेको थियो।
दुई महिनाको योगदान रकमको ८४ प्रतिशत रकम यसअघि नै कोषले योगदानकर्ताको खातामा जम्मा गरिदिएको थियो।