काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाउने बताएका छन्।
शनिबार यहाँस्थित कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा (एमाले) रहेको दाबी गरे।
उनले पार्टी अध्यक्षको हैसियतमा आफू पुष्पलाल र अन्य अग्रजहरुले देखाएको बाटोबाट विचलित नहुने प्रण गरे। अध्यक्ष ओलीले देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नेकपा एमाले नै रहेकाले पार्टीलाई अझै सशक्त बनाएर लैजाने बताए।
कांग्रेसले भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको ओलीले आरोप लगाए।
उनले भने, ‘कांग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ्ग हुन्छ। कांग्रेस धेरै पटक सत्तामा आयो। भीमदत्त पन्तलाई त उसले शहीद मानेन नै। किनभने उसैले टाउको कटाएको थियो। भीमदत्त पन्तलाई कांग्रेसका सभापति मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा २०१० सालमा टाउको काटेर झुन्ड्याइएको थियो। त्यसकारण कांग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा सिरिङ्ग हुन्छ। विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा सिरिङ्ग हुन्छ। दुर्गानन्द झा, काँग्रेसको कार्यकर्ताको हैसियतले महेन्द्रको गाडीमाथि बम हानेका थिए। जेलमा राखेर फाँसी दिइयो तर कहिल्यै शहीद घोषणा गरिएन। नेपाली कांग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरु फाँसीको सजाय सुनाइएको थियो कांग्रेसले त्यो कुरा गरेन।’
अध्यक्ष ओलीले गिरिजाप्रसाद कोइराला कम्युनिष्ट नेता मनमोहन अधिकारीबाट प्रेरित भएर कम्युनिष्ट कार्यकर्ताको रुपमा राजनीतिमा लागेको दाबी गरे।