काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले फोहर व्यवस्थापनको सम्बन्धमा कुन तहको सरकारले के गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था हुनुपर्ने बताएका छन् ।
आज मन्त्रालयले आयोजना गरेको फोहरमैला व्यवस्थापनसम्बन्धी नयाँ कानून तर्जुमाको आवश्यकता विषयमा काठमाडौँ उपत्यकाको जनप्रतिनिधिसँको छलफलमा मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
कतिपय अवस्थामा कुन सरकारले के गर्ने भन्ने कानूनी पाटो खुला नहँदा पनि फोहर व्यवस्थापनमा समस्या आएको मन्त्री श्रेष्ठले बताए ।
आगामी दिनमा फोहरलाई आम्दानीको स्रोतका रूपमा विकास गर्नका लागि नीतिगत रूपमा नै व्यवस्थापन हुनुपर्ने भन्दै मन्त्री श्रेष्ठले अब बन्ने कानूनमा फोहर व्यवस्थापनसँगै सरसफाइ र वातावरणीय स्वच्छतासमेत कायम गर्ने विषय पनि समावेश गरिने बताए ।
त्यसैगरी कार्यक्रममा सहभागीहरुले नयाँ कानुनमा सङ्घ, प्रदेश र स्थानीय तहको कार्यजिम्मेवारी, समन्वय र सहलगानीको ढाँचासमेत उल्लेख हुनुपर्नेमा जोड दिएका थिए ।