काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पास गर्न सिङ्गो सदन सहमत हुने विश्वास व्यक्त गरेका छन् ।
आज शुक्रवार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि संशोधनकर्ताहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खाणले यस्तो बताएका हुन् । उनले संविधानमा राखेको प्रावधानलाई समेटेर नै नागरिकता विधेयक अघि बढाउन लागेको बताए।
गृहमन्त्री खाणले अहिले ल्याएको विधेयकको मूल आधारशिला नै नेपाली आमा र बुबा भएकाहरूले नै नागरिकता पाउने गरेर विधेयक ल्याएको बताए । उनले ऐन, विधेयक बनाउँदा सरकार र सदनलाई पनि संविधानको प्रावधानका बारेमा उभिएर जानुपर्ने उल्लेख गर्दै आउँदा दिनमा पनि संशोधन गर्ने गरेर अघि बढ्नुपर्ने बताए।
गृहमन्त्री खाणले नागरिकता विधेयक सबैलाई आवश्यक रहेको उल्लेख गर्दै वैवाहिक अङ्गीकृतका लागि सबैले सहमति गरेर नागरिकताविहीन नेपालीलाई नागरिकको अधिकार दिनुपर्ने बताए। उनले नागरिकताका बारेमा समस्या समाधान गर्न सरकार छलफलका लागि तयार रहेको पनि उल्लेख गरे । गृहमन्त्री खाणले वैवाहिक अङ्गीकृतको सात वर्षको प्रावधानका कारण नै नागरिक संशोधन विधेयक अघि बढ्न नसकेको भन्दै सबैले यसलाई संशोधन गर्ने प्रस्ताव फिर्ता गर्न आग्रह गरे ।
गृहमन्त्री खाँणले भने, ‘संविधान जारी भएपछि सदनमा यो विधेयकले प्रवेश पाएको हो । सदनमा राज्य व्यवस्था तथा सुशासनमा यो २२ महिना छलफल भयो । २२ महिनासम्म समितिका सदस्यहरूले छलफल गर्नुभयो । संशोधन दर्ता गर्नेहरूले पनि आफ्नो राय दिनुभयो । तर निष्कर्ष दिन सक्नुभएन । हामीसँग अभ्यास नै छ । दुई पटक त हामीले संविधान सभाको चुनाव नै गर्नुपर्यो । त्यसरी बनेको संविधानमा दुई पटक सहमतिका साथ संशोधन प्रस्ताव राखिसक्यौँ । संविधान भनेको जीवित दस्तावेज हो । अझै संशोधन गर्न सकिन्छ । माग गर्न सकिन्छ । यो विषयमा सिङ्गो सदन सहमत हुन सक्छ ।’
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि ४५ जनाले ९४ बुँदामा संशोधित प्रस्ताव पेस गरेका थिए ।