विराटनगर। प्रहरीले भारतीय रुपैयाँ पाँच करोड ३९ लाख मूल्य बराबरको सुपारी नियन्त्रणमा लिएको छ।
आठ वटा ट्रकमा २ हजार ६७८ बोरा सुपारी २ लाख १९ हजार ५९६ केजी छ। यसको भारतीय मूल्य ५ करोड ३९ लाख ८८ हजार ४८० हुन आउँछ।
नेपालबाट निकासी प्रक्रिया सकेर इण्डियन कस्टमले समेत पैठारी स्वीकृत दिएको आठ ट्रक सुपारी रि–रुट गर्ने क्रममा मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो।
मनकामना ट्रेडर्सको नामबाट निकासी गरिएको सुपारी नवीन घिमिरेको रहेको बताइएको छ। विराटनगर भन्सार कार्यालयका भन्सार एजेन्ट किशोर शाहीले सुपारी भन्सार क्लियरेन्स गराएका थिए।
मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक राजन कार्कीले सुपारी उत्पति सर्टिफिकेटका आधारमा मात्रै नभई उत्पादनका आधारमा यकिन गर्नुपर्ने देखिएको बताए। यसका लागि कहाँको उत्पादन भन्ने परीक्षण गर्नुपर्ने अवस्था आएकाले नियन्त्रणमा लिइएको उनले बताए।
प्रहरीले तेस्रो मुलुकबाट आयात गरेको सुपारी नेपाली उत्पादन बनाएर निर्यात गरेको हुनसक्ने आशंका गरेको छ। साथै, प्रहरीलेसुपारी निर्यातकर्ता समेत नक्कली हो की भन्ने आशंका गरेको छ।
उक्त सुपारी नेपालको उत्पादन हो वा बाहिरको भन्ने यकिन गरेर मात्रै छोडिने प्रहरीले जनाएको छ।