सुर्खेत । अवरुद्ध रहेको कर्णाली प्रदेश सभाको बैठक सुचारु गर्नको लागि बोलाइएको सर्वदलीय बैठकले निष्कर्ष निकाल्न सकेको छैन ।सभामुख राजबहादुर शाहीले आज बोलाएको सर्वदलीय बैठकमा छलफलको टुंगो लाग्न नसकेको जानकारी दिए ।
सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार प्रदेश सभा बहिष्कार गरेपश्चात् स्थगित भएको बैठक सुचारु गर्न सभामुख शाहीले बैठक बोलाएका हुन् ।
मङ्गलबार प्रदेश सभाको दशौँ अधिवेशनको २६ औँ बैठकको सुरुमै नेकपा (माओवादी केन्द्र)का प्रदेश सभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको जिम्मेवारी र आवश्यकतालाई सदन र सरकारमा पूर्णतया बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
उनले पर्याप्त बजेट विनियोजन गरी कार्यविधि बनाएर नयाँ व्यवस्था वा प्रदेश प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने शहीद परिवारका लागि शहीद स्मृति र घाइते अपाङ्गता भएका व्यक्तिको जीवन निर्वाह भत्ताको व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन नगरी बजेट फ्रिज फालिएको उनको भनाइ थियो ।