काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालले सरकारसँग स्वास्थ्य बीमा सुचारु गर्न माग गरेको छ।देशका विभिन्न अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको भन्दै एमालेले बीमा सेवा सुचारु गर्न माग गरेको हो।
एमालेको स्वास्थ्य तथा जनसंख्या बिभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले २०७९/०८० को बजेट वक्तव्यमार्फत् स्वास्थ्य बीमालाई नियोजित गर्ने षड्यन्त्र भएको भन्दै आपत्ति जनाएका छन्।
बजेट वक्तव्यको १५१ को नम्बर बुँदामा स्वास्थ्य कार्यक्रमलाई थप व्यवस्थित बनाइने र लाभग्राहीलाई सामूदायिक तथा सरकारी अस्पतालबाट मात्रै उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ भनि उल्लेख भएको उदृत गर्दै सरकारको उक्त नीतिलाई एकातिर बीमा प्रदायक निकाय घटाएर सहज पहुँचबाट टाढा राख्ने काम गरेको भन्दै आपत्ति जनाइएको छ।
सामाजिक स्वास्थ्य बीमामा नीजि कम्पनीलाई प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छिन षड्यन्त्र गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।बीमाका सन्दर्भमा सेवा प्रदायक संस्थाबाट हुन सक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत व्यवस्था अनुरुप बीमा कार्यक्रम सुचारु गर्न माग गरेको छ।