काठमाडौँ । मंगलबार बिहान १० बजेदेखि जोरपाटीको लोसेटारस्थित सन्तकुमार लामाको घरबाट ग्याससँगै निस्किएको बालुवाको मुस्लो करिब १७ घण्टापछि रोकिएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ स्थित लामाको घरबाट बोरिङ खनेर पाइप हाल्ने क्रममा एक्कासी निस्किएको ग्याससहित लेदोको मुस्लो बुधबार बिहान सवा ३ बजे रोकिएको वडाध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।
रातिसम्म मुस्लो निस्कने क्रम नरोकिएपछि नेपाली सेनाको टोलीले त्यस क्षेत्र आसपासका ५० मिटर नियन्त्रणमा लिएर प्रवेश निषेध गरेको थियो ।
ग्याससहित लेदो निस्किएको ठाउँमा अहिले एक वर्ग फिटको खाल्डो बनेको वडाध्यक्ष सुवेदीले जानकारी दिए । त्यस ठाउँमा अहिले हिलो थुप्रिएको छ । लेदोसहितको ग्यास निस्कँदा सय मिटर वरिपरिको क्षेत्र प्रभावित भएको उनले जानकारी दिए । लेदो हटाउनका लागि नगरपालिकाले तयारी गरिरहेको उनले जानकारी दिए ।