सुर्खेत । कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको छब्बिसौं बैठक सत्तापक्षकै सांसदहरुले बहिष्कार गरेका छन् । सरकार आफूहरुको जिम्मेवारी र भावनालाई कुण्ठित गरी एकलौटी ढंगले अघि बढेको भन्दै नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरुले प्रदेशसभा बैठक बहिस्कार गरेका हुन् ।
मंगलबार बैठक सुरु भएलगत्तै माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले सभामुखसँग बोल्ने समय मागेका थिए ।प्रदेशसभा सदस्य गोपाल शर्माले समय मागेर सरकार एकलौटी हिँडेको र प्रमुख सत्ता दल माओवादीलाई निषेध गर्न खोजिएको आरोप लगाए । यही अवस्थामा प्रदेशसभाका कुनै पनि काम–कारबाहीमा आफ्नो दल सहभागी हुन नसक्ने शर्माले बताए ।
कर्णालीमा कांग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको गठबन्धन सरकार छ । सरकारले परिवर्तनका लागि जीवन समर्पण गर्नेको स्मृतिमा सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको भन्दै सरकारले यसलाई कार्यान्वयन नगरेको बताए । सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले बैठक बहिस्कार गरेर बाहिरिएपछि प्रदेश सभाको बैठक स्थगित भएको थियो ।