मान्म। कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको उपस्वास्थ्यचौकी बन्द भएको छ। गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको हो।
स्थानीय रामबहादुर बटालाले गुनासो गरे, ‘गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाएछ, दुई स्थायी स्वास्थ्यकर्मी पनि बिदामा बसेको सुनियो। एक हप्तादेखि स्वास्थ्यचौकी बन्द छ। उपस्वास्थ्यचौकी बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ।’
उपस्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सोमबार गर्भवतीले स्टेचरमा नै नवशिशुको जन्म दिएकी छन्। गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा ‘बर्थिङ सेन्टर’ बन्द भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले जानकारी दिए।
उनले भने, ‘दुई स्थायी स्वास्थ्यकर्मी बिदामा हुनुहुन्छ। करार कर्मचारी हटाइएको छ। यसकारण सुत्केरीले चार घण्टासम्म बाहिरै बस्नुपरेको हो।’
उनले यसभन्दा अगाडिका करारका स्वास्थ्यकर्मी शान्ति बुढालाई फोन गरेर ती गर्भवतीलाई सेवा दिन आग्रह गरेको र सुत्केरीको ज्यान जोगिएको भनाइ छ।
अहिले आमा तथा नवशिशुको अवस्था सामान्य छ। आमा र शिशुको थप निगरानी बर्थिङ सेन्टरमा भइरहेको छ।