धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा आएको छ । नगर प्रमुख गोपाल हमाल र यूरोपेली संघका राजदूत नोना देप्रेजले सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
सो केन्द्र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि २४ सै घण्टा सञ्चालनमा रहने मेयर हमालले जानकारी दिए । उनले भने, ‘यस स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रले हामीलाई विपद्को अघि, विपद्को समयमा र विपद् पश्चातका घटना ट्रयाक गर्न मद्दत गर्नेछ । केन्द्रले विपद् विरुद्धको पूर्वतयारी र प्रतिकार्यमा सरोकारवालाहरुसँग समन्वय गर्नेछ ।’
यस्तै राजदूत नोना देप्रेजले युरोपेली संघले धनगढी उपमहानगरपालिकालाई विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता सुदृढ गर्न सहयोग गर्न पाउँदा खुसी भएको बताए ।
आपतकालीन कार्य सञ्चालन केन्द्रका युएनडीपी र नेपाल रेडक्रसमार्फत यस केन्द्रलाई युरोपेली संघले प्राविधिक र आर्थिक सहयोग गरेको छ । स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रले घट्नसक्ने आकस्मिक घटनाको बारेमा जानकारी दिन सहयोग पुगाउने विश्वास लिइएको छ ।