काठमाडौँ । लामो खडेरीले बालीनाली नष्ट भएपछि पानी पर्ने विश्वासका साथ पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिनिधिलाई बाँधेर मन्दिर पुर्याएका छन् ।सोमवार सरावल गाउँपालिकाका किसानले जनप्रतिनिधि र कर्मचारीलाई बाँधेर नजिकैको मन्दिर लगेका हुन् ।
खडेरीले आक्रान्त बनेपछि किसानले पानी पर्ने विश्वासका साथ यस्तो उपाय निकालेका हुन् । खडेरीले अप्ठ्यारोमा परेका किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा मन्दिर लगिएको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए ।लामो समय बितिसक्दा पनि पानी नपर्दा किसानले रोपेको धान सुक्न थालेको छ ।
बाँधेर मन्दिर लगिएका गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी, उपाध्यक्ष बासमती चमार, ३ नम्बर वडाका वडाध्यक्ष फिरिंगी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली, पूर्व सांसद रामलखन हरिजन, ४ नम्बर वडाका वडाध्यक्ष सुरेश यादव, ५ नम्बर वडाका वडाध्यक्ष लक्ष्मण चौधरी लगायतका जनप्रतिनिधिले मन्दिरमा पूजाअर्चना गरेका छन् ।
स्वच्छ मनले पूजाअर्चना गरे लामो समयदेखि परेको खडेरी अन्त्य गर्नका लागि भगवान् खुशी भएर पानी पार्ने विश्वासमा यस्तो गरिएको स्थानीयको भनाइ छ ।