धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमैयाको पुनःस्थापनाका लागि प्रदेश सरकार नीति बनाएर अगाडि बढ्ने बताएका छन् । २२ औं कमैया मुक्ति दिवसको अवसरमा सोमबार धनगढीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
मुख्यमन्त्रीले मुक्त कमैया, कमलरी, हलिया लगायतको पुनःस्थापना गर्ने सवालमा केही कानूनी समस्या रहेका कारण अहिलेसम्म पुनस्र्थापना गर्न नसकेको बताए । ‘प्रदेश सरकारले एकीकृत आवासको कार्यक्रम बनाएको छ तर, भूमिको व्यवस्था हुन सकिरहेको छैन’, उनले भने ।
‘आवासका लागि प्रदेश सरकारको अधिकार क्षेत्रभित्र छ तर, भूमिको व्यवस्था सरकारले गर्न सकिरहेको छैन । भूमि व्यवस्थापनको अधिकार संघलाईमात्रै छ ।’ त्यसैगरी उनले मुक्त कमैयाहरुलाई आवश्यकतानुसार तालिम, अनुदान सहयोग गर्न सकिने बताए ।
अनुदान सहयोगका लागि साझा धारणा बनाएर प्रदेश सरकार समक्ष आउन उनले मुक्त कमैयालाई आग्रह गरे । मुख्यमन्त्री भट्टले प्रदेश सरकारले आर्थिक रुपमा विपन्न, उच्च शिक्षा हासिल गर्न नसक्ने, स्वास्थ्योपचार गर्न नसक्ने वर्गका लागि प्रदेश सरकारले धेरै कार्यक्रम राखेको बताए ।