दैलेख । फिरन्ते जीवन बिताइरहेको राउटे समुदायलाई साउने सङ्क्रान्ति मनाउन कर्णाली प्रदेश सरकारले चामललगायतका खाद्यान्न सहयोग गरेको छ । भव्य र उत्साहसाथ सङ्क्रान्ति मनाउन आज आइतवार कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले राउटे समुदायका ४६ परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।
एक हप्ताअघि मात्र दैलेखको भगवतीमाई गाउँपालिका ४ मनघर चौरमा बसोवास गर्दै आएका राउटे समुदायलाई मन्त्रालयले सामाजिक सेवा केन्द्र ९सोसेक० नेपालको समन्वयमा चामल, नुन, खुर्सानी र कपडा सहयोग गरेको हो ।
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा, उपाध्यक्ष मीनाकुमारी खड्का, सामाजिक विकास मन्त्रालयको सामाजिक सुरक्षा तथा महिला विकास शाखाका महिला विकास अधिकृत अनिता ज्ञवाली राउटे बस्तीमा पुगेर खाद्यान्न सहयोग गरेका हुन् ।
खाद्यान्न वितरण गर्न पुगेका सरकारका प्रमुख सचिव श्रेष्ठले प्रदेश सरकारले राउटे नागरिकको संरक्षणका लागि पहल गरिरहेको बताए । सामाजिक विकास मन्त्रालयका सचिव काप्रीले राउटे समुदायको संरक्षणका लागि ‘राउटे नीति’ निर्माणकै क्रममा रहेको जानकारी दिए ।