जुम्ला । जुम्लाका १ सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन्। जुम्लाको पशु अस्पताल तथा पशु सेवा कार्यालयले मागेको आवेदनमा २ सय ६५ किसानले निवेदन दिएका थिए।
निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने जानकारी लिन कर्मचारी फिल्डमा गएका थिए। स्थलगत रिपोर्ट र मूल्याङ्कनपछि मात्र जुम्लाका १ सय ४३ जनाले गोठालो भत्ता पाएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताए।
उनका अनुसार ५० वटाभन्दा बढी संख्यामा भेडा पाल्ने किसानलाई मासिक १ हजार ५ सयका दरले वार्षिक १८ हजार भत्ता दिएको हो। यो कर्णाली प्रदेश सरकारको भेडा उत्पादन बढाउन कार्यान्वयन गरिएको नियमित कार्यक्रम हो। कार्यविधिले ५० देखि सय भेडा पाल्ने किसानलाई यस्तो भत्ता दिने व्यवस्था गरेको छ।
रकम सम्बन्धित किसानको बैंक खातामा नै जम्मा गरिन्छ। यो कार्यक्रमले किसानको रुचि भेडापालनतर्फ बढ्ने अपेक्षा गरिएको छ।