काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिष्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउन आग्रह गरेका छन् ।
नेपाल–चीन हिमालयमैत्री समाजले आज यहाँ आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था स् चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा उनले वामपन्थीहरू एक हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले भने, “वामपन्थी कोही हुनुहुन्छ भने गठबन्धन छाड्नुहोस्, वाम एकता गरौँ ।” उनले देश, राष्ट्रियता, लोकतन्त्र, स्वाधिनताका लागि वामपन्थी मिल्नुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले मुलुकको आधारभूत मूल्य मान्यता राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, सुशासन र मुलुकको विकासका लागि सबै दल मिल्नुपर्ने भनाइ राखे । उनले चीन र भारतसँग नेपालले सुमुधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिए । नेता ओलीले आफ्नो मनमा नेपालसँगै मुलुकको स्वाभिमान, स्वतन्त्रता र नेपाली जनताको उन्नति प्रगतिबाहेक अरु केही नभएको प्रष्टिकरण दिए ।
नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले वामपन्थी शक्ति एकता भए मात्र मुलुकको स्वाधिनताको रक्षा हुने भन्दै सबैले एकताका लागि पहल लिनुपर्ने बताए । उनले पार्टी एकता तत्काल नभए पनि मोर्चा वा गठबन्धन गर्नुपर्नेमा जोड दिए ।