काठमाडौँ । केही दिनयता ‘मनसुन ब्रेक’ हुँदा देशभर अधिकतम र न्यूनतम तापक्रम बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको चापीय रेखा औसतभन्दा बढी दक्षिण (भारत) सरेका कारण मनसुन ब्रेक भएको छ ।
जल तथा मौसम विज्ञान विभागको हावापानी विज्ञान महाशाखाका अनुसार शुक्रबार मुलुकका ३२ वटा केन्द्रको तापक्रम ३५ देखि ४० डिग्री सेल्सियससम्म रेकर्ड भएको थियो । सबैभन्दा बढी नवलपुरको दुम्कौलीमा ४० डिग्री रेकर्ड भएको थियो ।
९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री रेकर्ड भएको थियो भने ११ वटा केन्द्रमा २५ देखि ३० र ३ वटा केन्द्रमा २० देखि २५ डिग्री रेकर्ड भएको थियो । शुक्रबार धनगढीमा ४८, नेपालगन्जमा ३७.८ र विराटनगरमा ३६.२ डिग्री रेकर्ड भएको थियो । हावापानी विज्ञान महाशाखाले देशभरका ५६ वटा केन्द्रको अधिकतम र न्यूनतम तापक्रम (२४ घण्टाको) रेकर्ड गर्ने गरेको छ ।
गत आइतबार २९.७, सोमबार, ३१, मंगलबार ३०, बुधबार ३०.८, बिहीबार ३०.५ र शुक्रबार ३१.२ डिग्री रेकर्ड भएको छ । शनिबार पनि मुलुकका धेरै भागमा तापक्रम बढेको छ । मुलुकभरका केन्द्रको शनिबार रेकर्ड भएको तापक्रम पौने ६ बजे अपडेट हुन्छ । मौसमविद् शाक्यका अनुसार मनसुनी चापीय रेखा भारतको कोलकता–दिल्लीको रेखा (लाइन) मा हुनुपर्नेमा अझै दक्षिण सरेको छ ।