चितवन। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार साँझ राष्ट्रिय समाचार समिति (रासस) चितवनका समाचारदाता कृष्ण आचार्यमाथि कुटपिट गरेका छन्।
कार्यालय परिसरमा मादक पदार्थ सेवन गरेर भोज गरेको भन्ने सूचनाका आधारमा समाचार सम्प्रेषण गर्न गएका आचार्यमाथि कुटपिट भएको हो। सो क्रममा आचार्यको शरीरमा घाउचोट लागेको छ। उनको कपडा च्यातिएको थियो। कुटपिट भएपछि उनी त्यहाँबाट भागेका थिए।
उनले बोकेका दुई वटा मोबाइल पनि विद्युत प्राधिकरणका कर्मचारीले खोसेका थिए। आचार्य स्थानीय नारायणी अनलाइन र ‘सञ्चारपत्र’ दैनिकका प्रकाशकसमेत हुन्।
पत्रकारमाथि आचार्यमाथि कुटपिटमा संलग्न ७ जना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भोजमा संलग्न सबै कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
आचार्यको परिवारले सातै जना कर्मचारीविरूद्ध अभद्र व्यवहारमा किटानी जाहेरी दिएका छन्।