जुम्ला । जुम्लाको हिमा गाउँपालिका १ स्थित भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत्गृह भत्किँदा चौकीदार गोरखबहादुर रावतका श्रीमतीसहित दुई छोराको मृत्यु भएको छ ।एक्कासी बिजुली बन्द भएपछि विद्युत्गृहमा विद्युत्को अवस्था बुझ्न गएका उनीहरूको पुरिएर मृत्यु भएको हो ।
गएराति साढे २ बजेतिर विद्युत् गृह भत्किएको प्रहरीचौकी बड्कीले जनाएको छ । मृत्यु हुनेहरूमा ३० वर्षीया विमला रावत र उनका छोराहरू ९ वर्षीय भरत रावत र ८ वर्षीय सूर्य रावत रहेका छन् ।
प्रहरी चौकी बड्कीका अनुसार एक्कासी बिजुली बन्द भएको र राति बत्ती किन गयो भनेर हेर्न जाँदा घर भाँसिएको थियो । उनीहरू तीनै जना आयोजनाको पावर हाउसभित्र सुतिरहेका थिए । प्रहरी चौकी बड्कीका रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरीको टोली राति नै घटनास्थलमा पुगेको थियो । शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको प्रहरी चौकी बड्कीले जनाएको छ ।